डोटी- जिल्लाको जोरायल गाउँपालिकाको प्रवर्धनमा सु.प.बहुउद्देश्यीय मञ्च एवम् सुदूरचिनारी डोटेली पत्रिका, कैलालीद्वारा संयुक्तरुपमा गाउँपालिका विशेष ‘जोरायल दर्पण’ लोकार्पण तथा विविध सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्राङ्गणमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
स्थानीय भाषा,कला, रहन–सहन र संस्कृतिको संरक्षण÷सम्वर्धनमा विगत १२ बर्षदेखि काम गर्दै आइरहेको सुदूरचिनारी डोटेली द्वैमासिक पत्रिका तथा सुदूरपश्चिमको भाषा, कला, मौलिकता र संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च कैलालीले संयुक्तरुपमा आज ‘जोरायल दर्पण’ गाउँपालिका विशेषाङ्कको लोकार्पण गर्नुका साथै तीनवटा फरक–फरक विधाका पुरस्कारहरु समेत वितरण वितरण गरिएको छ ।
सु.प.बहुउद्देश्यीय मञ्चले विगत ९ वर्षदेखि वितरण गर्दै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार–२०७९ यस वर्ष सुदूरपश्चिम प्रदेशका सु–प्रसिद्ध डेउडा गायक राजाराम भाटलाई र हेममल्ल स्मृति आम सञ्चार पुरस्कार–२०७९ सु.प.क्षेत्रका वरिष्ठ साहित्यकार खगराज पाठकलाई प्रदान गरेको छ ।
त्यस्तै डण्डीराज भागिरथी समाजसेवा पुरस्कार–२०७९ जोरायल स्थित घण्टेश्वर मा. वि.का प्रधानाध्यापक सुनलाल थापा लाई प्रदान गरेको छ । यस्तै डण्डीराज भागिरथी आदर्श सम्मान डोटीका पूर्व सांसद यज्ञराज पाठकलाई प्रदान गरेकोे छ । सबै पुरस्कारहरुको राशी एघार हजार एक सय एघार रहेको छ।
कार्यक्रमको सभापतित्व जोरायल दर्पणका प्रधान सम्पादक समेत रहनु भएका सुदूरचिनारी डोटेली पत्रिकाका सम्पादक एवम् कार्यक्रम संयोजक निर्मलकुमार भण्डारीले गरेका थिए । प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।
त्यसै विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. टी.एन. जोशी, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा तथा डोटीका पूर्व सांसद यज्ञराज पाठक रहेका थिए। सु.प.बहुउद्देश्यीय मञ्चका सचिव डिल्लीराज जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सु.प.बहुउद्देश्यीय मञ्चका पूर्व अध्यक्ष एवम् सुदूर चिनारी द्वैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक एन.के. जोशीले गरेका थिए ।