कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई गाभेर उपमहानगरपालिका बनाउन छलफल सुरु भएको छ ।
दुई पालिकालाई गाभेर उपमहानगरपालिका बनाउन स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल सुरु गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा दीपक प्रकाश भट्टले बताए । पछिल्लो तथ्याङ्क अनुसार दुई पालिका मिलाउँदा उपमहानगरपालिका बनाउन आवश्यक मापदण्ड पुग्ने हुँदा संवाद सुरु गरिएको उनको भनाइ छ ।
उपमहानगरपालिकाका लागि आवश्यक पूर्वाधार, जनसङ्ख्या, सुदूरपश्चिम विश्वविद्यालय, निर्माणाधीन मझगाँउ विमानस्थल, व्यापारिक नाका (प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी) निर्माणाधीन महाकाली कोरिडोर, आठ सय मिटर लम्बाइको चार लेनको महाकाली पुल, महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, महाकाली प्रादेशिक अस्पताल (प्रस्तावित मेडिकल कलेज), दोधारा चाँदनीमा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज), बहुउद्देश्यीय रङ्गशाला, सांस्कृतिक केन्द्र आदि संरचनालाई आधार मानिएको छ ।
पहिलो चरणको छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा। दीपक प्रकाश भट्ट, संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, निवर्तमान प्रदेश सभा सदस्य लाल बहादुर खड्का, कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदक बोगटी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, भीमदत्तका निवर्तमान नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतको सहभागिता रहेको थियो ।