काठमाडौं - ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार मनाइएको छ । हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस आज सैनिक मञ्च टुँडिखेलमा मनाइएको हो ।
प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। सम्वोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।
उनले देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको भन्दै नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभुत दिलाउन लागिपरेको बताए।
टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।
समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरूप्रति श्रद्धापूर्ण रूपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।