डडेल्धुरा - सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’को आज दोस्रो दिन ।
डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ' कृषि, पर्यटन ,उद्योग र व्यापार , समृद्ध डडेल्धुराको आधार ’ भन्ने मुल नाराका साथ बिहिबारदेखि अमरगढी नगरपालिका ४ स्थित टुँडिखेलमा जारी पाँचौ संस्करणको महोत्सवमा आज चर्चित लोक दोहोरी तथा देउडा गायिका पुर्णकला वि.सी र देउडा गायक टंक तिमिल्सेना आउँदै छन् ।
महोत्सवको आज दोस्रो दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको बिहिबार एक भव्य कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन् ।
महोत्सवमा झन्डै डेढ सय व्यावसायिक स्टल रहेका छन् । स्थानीय उत्पादनसँगै कृषि उपजको प्रदर्शनी पनि राखिएको छ भने रमाइलो मेला पनि महोत्सवमा छ ।
‘क’ र ‘ख’ वर्गका फरक क्षमता भएका व्यक्तिहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश तथा ७५ वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यस्तै , महोत्सवमा विद्यार्थीहरुको लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७५ रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ ।