डडेल्धुरा - प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन हुँदै गएको छ। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको हो।
डोटी खोलामा रहेको घटालथानमा अहिले घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्रबाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिँढीको बाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो निर्माण गरिएसँगै घटालथानको स्वरूप नै परिवर्तन भएको छ। घटालथानमा हालसम्म अढाई करोड रकम खर्च गरिएको छ। एक करोड ४२ लाख रुपियाँको ठेक्का सम्झौता र बाँकी उपभोक्ता समितिमार्फत भौतिक पूर्वाधार निर्माणको काम भएको अमरगढी नगरपालिकाले जनाएको छ।
ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाखको काम गरिएको थियो। हाल पनि दुई करोड चार लाख रुपियाँ लागतमा ठेक्का सम्झौतामार्फत भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्षको असार महिनामा काम पूरा गर्ने गरेर माया निर्माण सेवाले ड्याम, प्याराफिट निर्माण गर्ने काम गरिरहेको अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले बताए ।
उनका अनुसार विश्व बैङ्कको सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम भइरहेको छ। बूढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो। ‘घटालथान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।