काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले नामिबियालाई हराएको छ ।टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।
नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नेपालले पाँचौं खेलमा नामिबियालाई हराएको हो ।
नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो । यस अघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले पूरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेले ।
भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।
टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।
यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए । कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।
यस्तै कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।
सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए ।
नामिबियाका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३/३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो ।
उसका मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।
कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान ग्रिनले ३४ रन बनाएका थिए।
नेपालका करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् ।
पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । ६ महिना पछि मैदान फर्किएका लामिछानेले १० ओभरमा ६६ रन खर्चिएका थिए । सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ ।
यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।