धनगढी - कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा लिग चरणका खेल सम्पन्न भएका छन् । मङ्लबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढी विरुद्ध सान्त्वना जित दर्ता गरेको छ ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतीमा ११६ रन बनायो ।
शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए । गोविन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए । सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिस्टले १÷१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । सैनिकका ओपनिंग ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । विशाल ऐरले २३ रन बनाए ।
शारदाको बलिङतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए । प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् । पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबिच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनियाबिच हुनेछ। फाइनल खेल शनिवार हुने छ ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।