काठमाडौँ - उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै मूल्य बढाउन गृहकार्य थालेको छ ।
यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।अन्य सामानको मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरे पनि अहिले फेरि सरकारसँग मिलोमतो गरेर मूल्य बढाउन चलखेल थालिएको हो ।
सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्ने बताए पनि पर्याप्त अध्ययनबिनै मूल्य बढाउन गृहकार्य सुरु भएको हो । उद्योगीहरू आफूअनुकूल मूल्य बढाउन लागिपरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । दूधमा अचाक्ली मूल्य बढाउने खेल भइरहेको उनको भनाइ छ ।
राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न मिल्छ । उद्योगीहरूले दाना, चोकर, परालको मूल्य, ढुवानी खर्च बढेको बताउँदै मूल्य बढाउन दबाब दिएको तिमिल्सिनाले बताए । उद्योगीसामु बोर्डका प्रतिनिधि निरीह बनेको उनको भनाइ छ ।लागत बढेकै कारण सरकारले ०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो ।
कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टि–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरूले पनि सोही अनुसार मूल्य बढाएका थिए । अहिले डीडीसीले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य साढे ४२ रुपैयाँ तोकेको छ । उपभोक्ताले भने ४५ रुपैयाँ तिर्दै आएका छन् । अब प्रतिलिटर एक सय रुपैयाँ पुर्याउने खेल भएको हो ।
दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउने गरी काम भइरहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले स्विकारे ।बढेको मूल्य किसानले ६९ र उद्योगीले ३१ प्रतिशत पाउने दाहालको भनाइ छ । किसानले पाउने मूल्यवृद्धि गर्नुपर्ने भए पनि उपभोक्ता मूल्यप्रति पनि उत्तिकै सचेत हुनुपर्ने डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए ।