धनगढी - निर्माण ठेक्का लागेको ११ वर्षमा कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशामा स्थानीय छन्। निर्माण कम्पनीले चरम लापरबाही गर्दा कैलालीको भजनी नगरपालिका–३, ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिलो भएको थियो। पुलको एउटा स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए।
उनले भने , “बाँकी रहेको एक स्पामको ढलान भएको छ। एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो।” एक सय मिटर लामो सो पुलको २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो। सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माण कार्यमा ढिलाइ भएको बताइन्छ। निर्माण कम्पनीले लापरबाही गर्दा पुल नबन्ने हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका थिए। बिरुवारलामारशेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो।
पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको थिएन। तीन करोड ४५ लाख २० हजार रुपियाँ लागतमा हुलाकी राजमार्गअन्तर्गत सो पुल निर्माण भइरहेको छ। पुल निर्माणको कार्य अब अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए ।
उनका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ। थप गरिएको समयभित्र निर्माणको कार्य पूरा हुने सुनारको भनाइ छ। उनले भने, “एक स्पाम मात्रै काम बाँकी हो। थपिएको समयमा काम पूरा हुन्छ। यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन्।”
कान्द्रा नदीमा पुल नबन्दा भजनीका स्थानीयसहित हुलाकी राजमार्ग भएर ओहोरदोहोर गर्नेले सास्ती भोग्दै आएका छन्। वर्षायाममा ज्यान जोखिममा पारेर डुङ्गामार्फत नदी तर्दै आएका थिए। यसैगरी हिउँदमै पनि घाट ठेकेदारलाई चर्को शुल्क तिरेर काठको पुलमार्फत ओहोरदोहोर गर्न बाध्य छन्। ठेकीपुर पुल निर्माण नहुँदा कर्मदेव घाटमा काठे पुल सञ्चालन गरेका ठेकेदारले चर्को शुल्क असुल्दै आएका छन् तर पुल निर्माणले अब भजनी नगरपालिका–३, ५, ७, ८ का स्थानीयको जनजीवन सहज हुनेछ।