अत्तरिया - लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत आज (शनिवार)का खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन्। आजको पहिलो खेलमा लोटस आई स्कुलले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित र्गयो।
भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३ ओभरमा ४ विकेट क्षतीमा भेटायो। लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए।
भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिए। टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२.५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो।
भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। लोटस आईका बलर सन्तोष विजले एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित उनले ३ दशमलव ५ ओभरमा मात्र ८ रन खर्चिए। वीरेन्द्र नाथ र हिक्मत महराले २-२ विकेट लिए।
शनिवारको दोस्रो खेलमा नव बाल बाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित र्गयो। लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४.४ ओभरमा १ विकेट गुमाएर भेटायो। नव बाल बाटिकाको ब्याटिङमा नर बहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए। दोस्रो विकेटको लागि नर र विराटले ८४ रनको साझेदारी गरे।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०-१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।