टिकापुर -सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीको घरमा पुगेका छन् ।शनिबार बिहान मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीकी आमालाई भेटेका छन्।
हिजो मात्र कार्यभार सम्हालेका मुख्यमन्त्री शाहले आफूले रेशम चौधरीलाई छुटाउन अभियान थालिसकेको र त्यसमा आफू लागिसकेको बताएका छन्। रेशमकी आमासँग कुरा गर्दै मुख्यमन्त्री शाहले तपाईंहरूकै आशीर्वादले आफू मुख्यमन्त्री बनेको हुँ भनेर पनि बताएका छन्।
उनले कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रहेको रेशमको घरमै पुगेर उनकी आमा सुल्फीदेवी चौधरीलाई धन्यवाद पनि दिएका थिए।
यस्तै, टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो। ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्याएको छ। हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ। म त्यसको लागि लागिपरेको छु।’
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमा उपस्थित नभएपछि विश्वासको मत नपाएर राजीनामा दिएका थिए।
रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।