काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ आयोगले आज ३२ औँ स्थापना दिवस मनाउन लागेको हो ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको काठमाण्डौको टङ्गालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा मातहतका कार्यालय रहेका छन् । आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ ।
आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरुको भनाइ छ । भ्रष्टाचार रोक्न चुनौतीपूर्ण रहेको तथा सरकारी कोषमा राजस्व सङ्कलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान रहेको अख्तियारले नै भन्दै आएको छ ।
सरकारका प्रायः सबै क्षेत्रमा कुन न कुनै किसिमको भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाउँदै आएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि वित्तीय अराजकता बढेको औँल्याएको छ ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले सीमित स्रोत र साधन हुँदाहुँदै आयोगले थुप्रै काम गरेको तर अझै गर्न सक्ने धेरै विषयलाई छानबिनको दायरामा ल्याउन नसकेको बताए ।
भ्रष्टाचारको प्रकृति र प्रवृत्ति परिवर्तन भइरहे पनि समयानुकूल ऐन परिवर्तन नहुनु, सरकारले खटाएको जनशक्तिमा मात्रै भर पर्नुपर्नेलगायतका व्यवस्था आयोगका लागि थप चुनौती रहेको उनको भनाइ छ। पूर्वसचिव त्रितालले आयोगले ठूलो माछा समाउन सकेन भनेर लाग्ने गरेको आरोपप्रति भने असहमति जनाए ।
देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ।