धनगढी -सुदुरपश्चिम प्रदेश सरकार एक महिनामा नै ढलेको छ। जसको मुख्य कारण प्रदेश सभामा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी हो । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका थिए ।
एमाले संसदिय दलका नेता एबम मुख्यमन्त्री राजेन्द्र सिं रावलले नागरिक उन्मुक्तिका सांसदहरुको अनुपस्थिततिका कारण विश्वासको मत नपाउने अवस्थामा पुगे। जसको कारण उनी पदमुक्त पनि भए। नागरिक उन्मुक्ति पार्टी सत्ता साझेदार दल नै थियो । उसले सभामुखमा सत्ता गठबन्धनलाई साथ दिएको थियो ।
तर मुख्यमन्त्रीमा विश्वासको मत दिन उसले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनायो र त्यस मागमा टसमस नभएर विश्वासको मत नदिने निर्णय गर्यो ।विश्वासको मत जुटाउन अन्तिम समयसीमासम्म कसरत गरेका रावल र उनको पार्टी एमालेले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन सकेनन् ।
एमाले उच्च तहका नेता सँग रेशमले पटक पटक बार्ता गरेका थिए ।चौधरीले अन्तिम समयमा लिखित मागेका थिए । तर त्यो पनि दिन नमाने पछि उन्मुक्ती बिच्चीकिएको थियो । उसले आफ्ना सांसदलाई केही दिन देखी काठमान्डौमा नै राखेर दैनिक मिटिङ गर्दै आएको थियो। उसले अब बन्ने सुदुरपश्चिम प्रदेश सरकारलाई पनि विश्वासको मत नदिने प्रष्ट परेको छ।
उक्त पार्टी उच्च स्रोतले भन्यो ,'कांग्रेस,एमाले र माओबादी हाम्रो लागी उस्तै हुन । हाम्रो माग सम्बोधन गर्न उनिहरु इच्छुक देखिएनन त्यती मात्रै होइन लिखित दिन पनि तयार भएनन् त्यसैले कुनै पनि सरकारलाई हाम्रो समर्थन हुँदैन।'
५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत पाउन २७ सांसदको आवश्यक पर्छ। नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको छ ।
प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख सहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहेका थिए।विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादका ४ र १ स्वतन्त्र सदस्य छन्।