धनगढी - पुरनसिंह ठगुन्ना अहिले ६० वर्षको भए। ३१ वर्षको पौरखी उमेर हुँदा उनको परिवारले दार्चुलाको मार्मास्थित गुल्जरमा गुजारा गर्न सकेन। गरिबीको चापले थातथलो छोड्न बाध्य बनायो।
गरिबी छल्न २०५० सालतिर कैलाली झरेका ठगुन्ना भन्छन्, “अब यहाँ अभाव खेप्नु परिरहेको छैन।” परिवारमा धेरै सदस्य तर आम्दानी थोरै। जसको कारण गुल्जरमा गुजारा गर्न गाह्रो थियो उनको परिवारलाई २९ वर्षदेखि कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित गैँडाखेरामा बसोबास गरेको ठगुन्नाले भने, “पाँच जना दाजुभाइ मात्रै भएकाले एकरदुई भाइ तराई झरौँ भन्ने कुरा भयो। त्यसपछि म परिवारसहित गैँडाखेरा आएँ।”
गैँडाखेरामा ठगुन्नाले डेढ बिघा ऐलानी जग्गा जोडिसकेका छन्। २०५० सालतिर गैँडाखेरा जङ्गलजस्तो थियो। त्यो बेला त्यहाँ सेवा सुविधा केही थिएन। न सडक न त बिजुली। खानेपानी त अहिले पनि पुगेको छैन। केही सेवा सुविधा नभएकाले पाँच हजार कट्ठामा ऐलानी जग्गा बिक्री हुने गर्दथ्यो। ठगुन्नाले भने, “बस्नका लागि जेनतेन त्यही जग्गा किनेँ। अहिले डेढ बिघा जग्गा जोडिसकेको छु।”
उनको जस्तै सुनील ठगुन्नाको परिवार पनि गैँडाखेरामा आएर बसिरहेको छ। आफू १०/१२ वर्षको हुँदा गुल्जार छोडेर आमाबुवा कैलाली झरेको सुनील सुनाउछन्। उनले भने, “यहाँ आएपछि ५ कक्षाबाट यतै पढेँ। हामीले पनि १० कट्ठा जग्गा जोडिसकेका छौँ।” सुनीलको परिवार दुई दशकअघि कैलाली आएका थिए। आफन्तहरू तराई झरेपछि आफ्ना आमाबुवा पनि यता आएको उनले बताए।
दार्चुलाको मार्मा गाउँपालिकास्थित गुल्जरबाट कैलालीको गैँडाखेरामा बसाइँ सर्ने क्रम तीन दशक अगाडिबाट सुरु भएको थियो। अहिले यही गाउँमा मात्रै दार्चुलाका ७० परिवार आइसकेका छन्। एक परिवार वा आफन्त आएपछि उनीहरूलाई देखेर अरू पनि यतै आउने गरेको सुनीलले बताए। उनले भने, “अहिले त यहाँ सबैभन्दा बढी दार्चुलाकै मान्छे छन्। तर जन्मथलोको पनि माया लागिरहने गरेकाले बेलाबेला मार्मा पुगिरहने गर्छौं।”
कैलाली झरेका ‘दार्चुलेली’हरूको पेसा कृषि र मजदुरी रहेको छ। कृषिमा परिश्रम गर्नुका साथै भारत गएर मजदुरी गर्ने कार्य उनीहरूले गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट मात्रै नभई अन्य प्रदेशको विकट पहाडी क्षेत्रबाट पनि कैलालीमा बसाइँ सरी आउने क्रम बढेको छ। पहाडको कष्टकर जीवनबाट दिक्दार भएकाहरू सुविधा खोज्दै दिन प्रतिदिन तराई झरिरहेका छन्। त्यसरी बसाइँ सरेर आउनेका लागि घोडाघोडीको गैँडाखेरा गाउँ उपयुक्त गन्तव्य बनेको छ।
पुरानो थातथलो र त्यहाँको हावापानीको माया लाग्ने गरे पनि पहाडमा अभाव र गरिबी रहेका कारण तराई झर्न बाध्य भएको पुरनसिंहको भनाइ छ। उनले भने, “जन्मथलोको माया त किन नलाग्नु हजुर तर गरिबीले त्यहाँ बस्न दिएन।”
गैँडाखेरामा दार्चुला, डोटी, अछाम, बाजुरा, दैलेख, सुर्खेतलगायतका जिल्लाबाट बसाइँ सरेर आएकाहरूको बसोबास छ। विभिन्न समयमा तराई झरेका ती सबै परिवारले यहाँ १० कट्ठादेखि दुई बिघासम्म जमिन बनाइसकेका छन्। उनीहरूले जग्गाको लालपुर्जा पाउने प्रक्रिया अघि बढेको छ। तराईमा पहाडको जस्तो अभाव नरहेको र जनजीवन सहज रहेका कारण तराईतिर आकर्षण बढ्दो रहेको स्थानीय यमबहादुर गरन्जाले बताए। आफू सुर्खेतबाट गैँडाखेरा आएको उल्लेख गर्दै गरन्जाले भने, “अहिले यो गाउँलाई ७६ जिल्लावासीको गाउँ पनि भन्ने गरिन्छ।”
पहाडको जनजीवन अभाव र कष्टमा बित्ने गरेकाले सुविधा खोज्दै मान्छेहरू तराई झर्ने गरेको युवा अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दको बुझाइ छ। उनले अगाडि थपे, “पहाडमा जग्गा जमिन थोरै हुन्छ। बाटाघाटा, खानेपानीका समस्या छन्। जसको कारण सुविधा खोज्दै मान्छेहरू तराई झरिरहेका छन्।”
पहाडबाट तराईमा बढ्दो बसाइँसराइका कारण पहाडका कुनाकन्दरा सुनसान हुन थालेको बताइन्छ। त्यसको ठीकविपरीत तराईमा भने मानव बस्तीको चाप बढ्दै गएको छ। तीव्र गतिमा भइरहेको बसाइँसराइका कारण कृषियोग्य जमिन घट्दै गएको छ। उब्जनी हुने खेत घडेरीमा परिणत भइरहेको छ। पहाडबाट बसाइँसराइ हुने क्रम रोक्नका लागि त्यहाँको जनजीवन सहज बनाउन आवश्यक रहेको चन्दले बताए।