धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन् ।
संविधानको धारा १६८ को उपधारा ९२० अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज (बुधबार) विश्वासको मत लिन लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार उनले नियुक्त भएको ३० दिन अर्थात् भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्छ ।
आज मुख्यमन्त्रीले विश्वासको मत लिन बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका कारण मुख्यमन्त्री रावललाई समस्या रहेको छ ।
२६ माघ अर्थात् बिहीबारसम्म प्रदेश सभामा विश्वासको मत नलिए रावल नेतृत्वको सरकार स्वतः ढल्नेछ । अन्य ६ प्रदेशका मुख्यमन्त्रीले भने विश्वासको मत लिइसकेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेसँगै नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री रावलको विश्वास रहेको भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेको छ ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्तापक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सांसद छन् ।