दोधारा चाँदनी - कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेका छन् । सङ्घीय सरकारले सेनामातहत कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ सालघारीमा निर्माण गरेकोे १ हजार शय्या (बेड) को होल्डिङ सेन्टर प्रयोग विहीन बनेको हो ।
महेन्द्रनगरको सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका २ संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण भइसकेका छन् । उक्त संरचना २९ करोड २५ लाखमा ठेक्का सम्झौतामा हनुमान कन्सट्रक्सन होल्डिङ सेन्टर निर्माण गरेको हो ।
निर्माण सम्पन्न गरेर तयारी अवस्थामा रहे पनि करोडौँका संरचना प्रयोगविहीन बनेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले महेन्द्रनगर लगायत अन्य ठाउँमा निर्माण भएका होल्डिङ सेन्टरको उपायेगबारे रक्षा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए । ‘यहाँलगायत देशभरकै होल्डिङ सेन्टरको प्रयोगबारे रक्षा मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको छ’, उनले भने ‘कार्यदलले प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने टुङ्गो लाग्छ ।’
कोरोना महामारीका बेला पनि निर्माण कम्पनीले तत्काल ३ सय बेड तयारी अवस्थामा राखेको भए पनि होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने भन्नेमै अन्योल देखिएका कारण सक्रमितहरू राखिएको थिएन । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सबै निकायले मिलेर उपयुक्त प्रयोजनका लागि होल्डिङ सेन्टरको प्रयोग गर्न सकिने बताए । ‘२÷३ सय बेड भविष्यमा आउनसक्ने महामारीका लागि आइसोलेसन प्रयोग गर्न मिल्ने गरी राख्दा उपयुक्त हुन्छ’ उनले भने ‘अन्य महामारीका बेला राहत, उद्धारका लागि पनि स्कुल प्रयोग गर्नुभन्दा होल्डिङ सेन्टर प्रयोग गर्नु उपयुक्त हुन्छ ।’
उनले स्वास्थ्यका हिसाबले क्षयरोगका बिरामीको उपचारका लागि पनि केही भाग प्रयोग गर्न सकिने बताए । ‘होल्डिङ सेन्टर कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको छ’, डा भट्टले भने ‘यसलाई सुधारगृह बनाउने कुरा पनि छलफलमा आएको छ ।’
पछिल्लो सयम यहाँ लागुऔषधको प्रयोग भयाभह रहेकाले स्थानीयवासी प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहका रूपमा प्रयोग गर्नुपर्ने बताउँछन् । ‘यहाँ क्षयरोगका बिरामीले बस्ने व्यवस्था छैन, यसको केही भागलाई क्षयरोगका बिरामीका लागि प्रयोग गर्दा उपयुक्त हुन्छ’ स्थानीय धिरज जोशीले भने ‘प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहको आवश्यकता पनि रहेको छ ।’ - रासस