अत्तरिया - पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज (आइतबार) विधिपूर्वक समापन गरिँदै छ ।
व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाे परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।
विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल , १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सो अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा नुहाइधुवाइ पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।
यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। काठमाडौंको साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमा सम्पन्न हुन्छ। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यसैदिन समापन गरिन्छ ।