गड्डाचौकी – भारतको गोवाबाट दिल्ली हुँदै ‘नेपाल भारत मैत्रीपूर्ण बस सेवा’ को बसबाट नबिन थापा गड्डाचौकी पुगे । दिल्लीबाट अघिल्लो दिन साझ ७ बजे बसमा बसेका थापालाई बसका सहचालकले बिहान ६ बजे गड्डाचौकीको नाका खुलेपछि ७ बजे भित्रै महेन्द्रनगर पुगीने बताएका थिए । बिहान ४ बजे नै बस गड्डाचौकी नाकामा पुगेको भएपनि ६ बजे मात्रै गेट खुल्ने भएकाले बस २ घट्टा रोकियो ।
६ बजे पछि बस भारतीय नाकाबाट प्रवेश गरेपछि ८ किलोमिटर मात्रै टाढा रहेको महेन्द्रनगर बसपार्कमा केहि समयमा पुगीने र ७ बजे काठमाण्डौको यात्रा तय गर्ने सोच थापाले बनाएका थिए । तर २ किलोमिटर गड्डाचौकी नाका पार गर्न बसलाई २ घण्टा लागेपछि उनले काठमाण्डौ जाने बिहानको बस भेटाएनन् र उनी अलपत्र परे ।
३ बर्ष अगाडी देखि नेपाल भारत मैत्री बस सेवा सुरु भएपछि महेन्द्रनगर देखि दिल्ली जाने यात्रुलाई सहज भएको भएपनि सिमानाकामा सामान बोकेर हिन्नुपर्ने र दोहोरो चेकजाँचका कारण भने यात्रुहरुले सास्ती खेप्दै आएका छन ।
भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने बसहरुमा ४ देखि ५ ठाउँमा चेकजाँच गरिने गरेका छन । चेकजाँच गर्दा भारतीय सिमामा रहेका सुरक्षाकर्मीले गाडीभित्र गएर चेकजाँच नगरी यात्रुहरुलाई आ आफ्ना सामान बोकेरै सीमा नाका पार गराउँन लगाउने भएका कारण यात्रुले झन सास्ती भोग्दै आएका छन ।
सीमानाकामा रिक्सा, टाङ्गा बाट लुटिनबाट जोगीन बसमा यात्रा गर्ने भएपनि सिमानाकामा आ आफ्ना सामान बोकेर चेकजाँच गराउनु पर्दा धेरै सामान हुने यात्रुहरु पुन तिनै रिक्सा, टाङ्गाको भर पर्न बाध्य हुने गरेका छन । महेन्द्रनगर देखि दिल्ली सम्म ‘नेपाल भारत मैत्री बस सेवा’ सुरु नहुँदा गड्डाचौकी नाका भएर नेपाल आउने यात्रुहरुले भारतको बनबासा बाट रिक्सा , टाङगा प्रयोग गरी महेन्द्रनगर सम्म आउने गरेका थिए ।
महेन्द्रनगर देखि दिल्ली सम्म ‘नेपाल भारत मैत्रीपूर्ण बस सेवा’ सुरु हुँदा सीमामा रिक्सा , टाङगाबाट लुटिनबाट जोगीने भएपनि झन्झटिलो चेकजाँचका कारण भने यात्रुले झनै सास्ती खेप्दै आएका छन ।
गड्डाचौकी नाकाको महाकाली नदिमा रहेको व्यारेजमा हिनेरै यात्रा गर्नु पर्ने बाध्यता छ भने व्यारेज देखि पनि करिब १ किलोमिटर टाढा रहेको दशगजा सम्म पनि आ आफ्ना झोला बोकेर ठाउँठाउँमा चेकजाँच गराउँनु पर्ने बाध्यता छ ।
जसले गर्दा सीमा नाका पार गर्न २ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । दिल्लीबाट सोहि बसका यात्रु बझाङका दिपक बिकले टाङ्गा रिक्सामा आउँदा चेकजाँच पनि कम हुने र छिटै पुगिने भएपनि बसमा यात्रा गर्दा भने धेरै चेकिङ हुने र सामान बोकेर हिन्नु पर्ने बाध्यता रहेको बताए ।
भारतीय बसमा वनबासा सम्म आएर टाङ्गा रिक्सामा महेन्द्रनगर आउँदा आधा घण्टामै पुगीने बताए । बिकले भने बसमा झन्झटीलो भएपनि लुटिने समस्या भने नभएको बताए । उनले टाङ्गा रिक्साले अहिले पनि बाटोमा चेकजाँच नहुँने र छिटो पुगीने प्रलोभन देखिई तोकिएको भन्दा बढी भाडा लिने गरेको बताए ।