काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन् । उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ । भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्ने भएकी हुन । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरे पनि प्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सदस्यहरू सँग चिनियाँ राष्ट्रपतिको भेट विमानस्थलमै हुनेछ ।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री सहितको परिचय गराउनेछिन । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् । ‘गार्ड अफ अनरको स्थान यसपटक एयरपोर्टमै तोकिएको छ ।
तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू विमानस्थलमै पुगेका थिए ।
शनिबारको कार्यतालिका
राष्ट्रपति सी शनिबार बेलुकी ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ । विमानस्थलमै सैनिक सलामी अर्पण गरिने छ । ६ बजे सी सोल्टी होटल जानेछन् ।
त्यसपछि ६ः ३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ । करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि सोल्टी होटल फिर्ता हुने सवा सात देखि साढे सात बजे सम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
७ ः ३० देखि राजकीय भोजमा सहभागी हुनुका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । सीको रात्रिभोज गराउने होटल सोल्टी निकै सिँगारीएको छ भने उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट भ्रमण
सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलई उच्च प्राथमिकता दिइएको छ ।
२३ वर्षपछि राष्ट्रपतिस्तरीय पहिलो भ्रमण हो । सीसँगै नेपालमा चीनबाट विभिन्न समयमा भएका तीन राष्ट्रपतिको आगमन हुने छ । अहिले सम्म चीनबाट १३ उच्च प्रदस्थ राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेपाल आगमन भएको रेकर्ड देखिएको छ ।
यो भ्रमण सँगै राष्ट्रपतिको भ्रमण तेस्रो हुने छ भने ६ पटक प्रधानमन्त्रीको आगमन भएको छ । त्यस्तै उपप्रधानमन्त्रीको आगमन पाँच पटक भएको छ ।