डडेल्धुरा - जिल्लामा तीन महिनापछि मात्रै हिउँदे वर्षा भएको छ। वर्षा हुँदा कात्तिक महिनामै हिउँ पर्ने महाभारत पर्वत क्षेत्रलगायत यहाँका अग्ला पहाड जङ्गल क्षेत्रमा यस वर्ष अहिले माघमा आएर मात्रै हिमपात भएको छ। गत वर्ष भने छ पटकसम्म डडेल्धुराका विभिन्न क्षेत्रमा हिमपात भएको थियो।
यस वर्ष भने गत कात्तिक १ गते छिटपुट वर्ष भएको थियो। त्यस यता भने वर्षा नै भएको थिएन। तीन महिना बढी समयसम्म वर्षा नहुँदा हिउँदे खेतीपातीमा असर पुगेको थियो। ढिलै भए पनि वर्षा हुँदा हिउँदे बाली सप्रिने भन्दै किसान हर्षित भएका छन्।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारका अनुसार डडेल्धुरामा मङ्गलबार बिहान ८ः४५ को रेकर्डअनुसार ५.४ मिलिमिटर वर्षा भएको छ। महाभारत पर्वत क्षेत्र तेले लेक, सुग्गाघाणा, अनारखोली क्षेत्रमा हल्का हिमपातसमेत भएको छ। मङ्गलबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको छ। वर्षा नहुँदा हिउँदमा लगाइने फलफूलका बिरुवासमेत किसानले रोप्न सकेका थिएनन्।
ढिला गरेर वर्षा भएपछि अब किसानले ओखर, किभीलगायतका फलफूल लगाउने तयारी थालेको किसान धनबहादुर भाटले बताए। वर्षा र हिउँ परे माघ, फागुन महिनामा बर्खे फलफूलका बोट बिरुवा समेत किसानले रोप्ने गरेको उनको भनाइ छ। सुन्तला, कागती, मौसमीलगायतका फलफूलका बोटबिरुवा समेत माघ, फागुन महिनामा किसानले रोप्ने गरेको उनले बताए।
लामो समय वर्षा नहुँदा पानीका मुहानहरूमा पानी घट्दै गएको थियो। हिउँदे वर्षा नभए एवं हिमपात नभए डडेल्धुरामा चैत महिनादेखि खानेपानीको समेत अभाव हुने गरेको छ। हिउँदमा वर्षा र हिमपात भए पानीका मुहान नसुक्ने र पानीको अभाव हुँदैन। चैत, वैशाख महिनामा लाग्ने डढेलोसमेत कम लाग्ने जिल्ला प्राकृतिक विपत् व्यवस्थापन संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।