डोटी - जिल्लामा एक बालकमा दादुराको सङ्क्रमण देखिएको छ । केआईसिंह गाउँपालिका ४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएको हो ।
कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ ।
दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेको हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हो । पुस २९ गते बालकको रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतबार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताए ।
‘दादुराको रिपोर्ट पोजेटिभ आएपछि हामीले बालकको खोजी गयौँ, बालक माघ १ गते नै कैलाली फर्किसकेका रहेछन्, अन्यमा पनि दादुरा सरेको छ कि भन्नेर खोजी गर्दैछौँ ।’ उनले भने ।
बालकमा दादुरा पुष्टि भएपछि उनी बसेको घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएको खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दादुरा सरुवा रोग भएका कारण अन्य बालबालिकमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी बढाइएको स्वास्थ्य शाखा संयोजक माझीले बताए । उनका अनुसार अहिलेसम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन ।
दादुरा संक्रमित भएका बालबालिकामा कडा ज्वरो आउने, खोकी लाग्ने, सिँगान बग्ने, आँखा रसाउने र शरीरमा फोका आउने लक्षण देखिन्छन् ।