अत्तरिया - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा वर्षेनी मुद्दाको चाङ्ग बढ्दै गईरहेको छ । विसं २०७० साल असोजमा तत्कालीन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा अख्तियारको क्षेत्रीय कार्यालय स्थापना भएको उक्त कार्यालयमा वर्षेनी करीब २० प्रतिशतका दरले मुद्दा चाङ्ग बढ्दै गइरहेको हो ।
सो कार्यालयको तत्थ्याङ्क अनुसार यो आर्थिक वर्षमा जम्मा ७३४ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४, ०७५ मा मुद्दा दर्ताको सङ्ख्या ५८८ थियो । गत आवमा दर्ता भएका मुद्दामध्ये ६०९ मुद्दा फछ्र्यौट भएका छन् ।
फछ्र्यौट भएकामा बिस्तृत अनुसन्धानमा गएका ६३, सिधै तामेलीमा गएका २७३, सुझावसहित तामेलीमा गएका ३०, अन्य महाशाखा कार्यालयमा छानबिनका लागि पठाइएका १२, आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएका ९३, अन्य उजुरीमा गाभिएका १३८ रहेको आयोगका कार्यालय प्रमुख शिवबहादुर कार्कीले जानकारी दिए ।
सुदूरपश्चिमका नौमध्ये भ्रष्टाचार भएको भन्दै सबैभन्दा बढी मुद्दा कैलाली जिल्लाबाट दर्ता भएका छन् । सो जिल्लाबाट २६२ मुद्दा परेका छन् । सबैभन्दा कम बाजुराबाट १७ मात्र मुद्दा परेका छन् । कञ्चनपुरबाट १६४, बैतडीबाट ७२, डडेल्धुराबाट ५१, बझाङबाट ४७ दार्चुलाबाट ४६, अछामबाट ३६ र डोटीबाट ३९ मुद्दा आयोगको महेन्द्रनगर कार्यालयमा दर्ता भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा दर्ता भएका मुद्धा मध्ये सबैभन्दा बढी शिक्षा सम्बन्धि मुद्दा रहेको बताइएको छ ।