धनगढी -प्रदेशका महत्वपूर्ण योजनाहरुको निर्माण कार्यलाई गतिदिन बिहीबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ ।
ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता समाधानका बारेमा प्रतिनिधीसभा सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधीसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका बिचमा छलफल भएको हो ।
यस प्रदेशका ठूला योजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउनका लागि तिनैतहका जनप्रतिनिधीहरु बिच छलफल भएको प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले बताए ।
'धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक सडक, बझाङ ताक्लाकोट सडक लगायतका सडक योजना निर्माणमा देखिएका जटिलता समाधानका लागि हामी खटिरहेका छौं,' भट्टले भने- 'सडक क्षेत्रमा पर्ने रुखहरुका बारेमा रहेको समस्या समाधान भैसकेको छ।' अन्यत्र पनि विकास निर्माणमा देखिएको समस्या समाधानका लागि आफु सहजीकरण गर्न तयार रहेको भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनैतहको सरकार र जनप्रतिनिधीहरु बिचको सहकार्य र समन्वय विना विकासले गति लिन नसक्ने बताए । विकास निर्माणको काम लाई कसरी सजिलो गरि अगाडी बढाउन सकिन्छ भनेर छलफल गरिएको हो ।
प्रतिनिधीसभा सांसद नारदमुनी रानाले कतिपय ठूला योजनाहरुको निर्माण कार्यले राम्रो गति लिन नसकेकाले कसरी गति दिन सकिन्छ भन्नेमा छलफल भएको बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तिनैतहका जनप्रतिनिधीहरु बिचमा राम्रो छलफल भएको बताए । 'तीनवटै तहका एकल र साझा अधिकार सूचीहरु रहेका छन्', नगरप्रमुख वडले भने- 'समन्वयको अभावले साझा अधिकारका कानुनहरु निर्माण हुन सकेका छैनन् ।
विकास निर्माणका देखिएका जटिलताहरु पनि एक अर्काको सहयोग र समन्वय विना समाधान गर्न नसकिने भएकाले छलफल गरेका हौ। ' नगरप्रमुख वडले भने-फाष्ट ट्रयाक, गौरीफन्टा भन्सार नाकाको स्तरोउन्नती,ताक्काकोट नाका लगायत बिषयमा छलफल गरेका छौं ।