काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए ।
जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।
शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन् ।
सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।