कैलाली- गोदावरी नगरपालिकामा रहेका विपन्न समुदायका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यायो ब्लाङ्केट वितरण गरिएको छ । धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यायो ब्लाङ्केट वितरण गरिएको हो ।
श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपालको आर्थिक सहयोगमा धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरियाले जाडोमा न्यायो बनाउन २ सय जनालाई ब्लाङ्केट वितरण गरिएको हो । शनिबार अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बमले सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न बर्गका नागरिकलाई जाडोमा न्यायो बनाउन ब्लाङ्केट सहयोग गरिएको भन्दै धन्यबाद दिए । उनले भने,‘सरकारले गर्ने काम एउटा सामाजिक संस्थाले गरिरहेको छ । यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहुन्छ, यो एक पुण्य काम पनि हो ।’ उनले मनकारी संस्थाप्रति आभार पनि प्रकट गरे ।'
तराईमा पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीतलहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यायो होस् भनेर ब्लाङ्केट वितरण गरिएको धनगढी जेसीजका पूर्व अध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक करुणाकर पाण्डेले बताए ।
उनले भने,‘भगवान श्री सञ्जय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसर पारेर गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका नागरिकलाई जाडोमा न्यायो बनाउन ब्लाङ्केट वितरण गरिएको हो ।’
सामाजिक कार्य अन्तर्गत श्री सञ्जय साई बाबाको जन्मोत्सवलाई भव्य र सम्झनायोग्य बनाउन विपन्नलाई ब्लाङ्केट सहयोग गरिएको उनले बताए । कैलालीमा केही दिनदेखि लगातार शीतलहरका साथै चिसो बढेको थियो । चिसो र शीतलहरका कारण विपन्न परिवारका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या परेकाले उनीहरुलाई न्यायो बनाउन ब्लाङ्केट सहयोग गरेको उनले बताए ।
कार्यक्रम धनगढी जेसिज र अत्तरिया लाइन्सले संयुक्त रुपमा आयोजना गरेको हो ।