कञ्चनपुर - जिल्लाको बेदकोट नगरपालिका –७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएका छन्।
उनले शुरुमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याए। 'भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिएँ, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,' धामीले दुखेसो गरे, 'तैपनि हरेस नखाएर परिवारको खर्च टार्न उद्योग सञ्चालनमा ल्याएको छु।' उनले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका हुन्।
स्वदेशमै उद्योग सञ्चालनमा ल्याए पनि भारतीय मसलाका कारण बजारमा प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको बताइएको छ। 'भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ,' धामीले भने, 'व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन्।'