काठमाडौं - वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै नेता भुसालले नेपालमा कम्युनिष्टले अवसर पाएपनि एमाले अध्यक्ष केपी शर्मा आलीका कारण कम्युनिष्ट आन्दोलन नै धरापमा परेको बताए ।
उनले भने, ‘ओलीवाद, ओली विचार, ओली सिद्धान्त र ओली संगठन हावी भयो । संगठन कस्तो हुन्छ ? त्यो, सौरहा काण्डले देखायो । सिद्धान्त के हो ? भन्दा राज्य र पार्टी सबै मेरा चारका हुन यो उहाँको सिद्धान्त हो । विचार के हो भन्दा सर्वत्र म ।’
मुलुक डरलाग्दो दुर्घटनातर्फ जाँदै गरेको पनि उनले बताए । उनले भने, ‘एक अर्कालाई गाली गर्दा-गर्दा जो सिद्धान्तविहीन छ । जो बढी मूल्याहिन छ । उनीहरु पपुलर हुने स्थिति हुने आयो राजनीतिमा । यसले राजनीतिलाई सही दिशातिर लाग्दैन , रमाइलो बाटो हिडेर मुलुक डरलाग्दो खुट्टातर्फ जाँदैछ ।’
भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।
भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।