धनगढी - कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले गर्दा दुई दिनदेखि घामसमेत लागेको छैन। घाम नलाग्दा तापक्रम घट्दै गएको छ।
चिसो बढेपछि मान्छेको दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्न वर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरू कठ्याङ्ग्रिँदै विद्यालय गइरहेका छन्।
चिसो बढेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा धमाधम जाडो बिदा दिए पनि कैलालीका कुनै पनि स्थानीय तहले बिदा दिएका छैनन्। अहिले सामुदायिकसहित संस्थागत विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ। विद्यालयले निर्धारण गरेको पोसाकमा मात्रै विद्यालय जान र फर्किन विद्यार्थीलाई समस्या भइरहेको छ। अत्यधिक चिसो बढेकाले विद्यार्थीलाई परेको समस्यालाई मध्यनजर गरेर विद्यालयमा जाडो बिदा दिन आवश्यक रहेको कैलारी गाउँपालिका ९, गदरियाका अनिल चौधरीले बताए ।
धेरैजसो विद्यालयले विद्यार्थीलाई पोसाकभन्दा बाहेकको बाक्लो लुगा नलगाउन उर्दी जारी गरेका छन्। जसका कारण विद्यार्थीलाई समस्या भइरहेको छ। शिक्षक बाक्लो ज्याकेट लगाएर विद्यालय गइरहेका बेला विद्यार्थी भने विद्यालयले अनुमति दिएको पोसाकअन्तर्गतका स्वेटर, ट्र्याकसुट र कोटको भरमा पुसको चिसो छल्न बाध्य छन्।
विद्यालयको आआफ्नै नियम भए पनि यस्तो जाडोको बेला ज्याकेटलगायतका बाक्लो कपडा विद्यार्थीलाई लगाउन दिनुपर्ने अभिभावक ओम जोशी बताउछन्। “विद्यालयले यति कन्सिडर गरिदिएको भए विद्यार्थीलाई त्यति धेरै समस्या हुने थिएन,” उनले भने। चिसो बढ्दै गएपछि कैलालीका विद्यालयमा जाडो बिदा दिनुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय तहहरूले विद्यार्थी, बालबालिकाको मर्कालाई मध्यनजर गरेर बिदा दिनुपर्ने धेरैको जोड छ। जाडोका कारण विद्यार्थी बिरामी पनि पर्न थालेका छन्।
जाडो बढेपछि मानिसहरू जताततै आगो तापेको देखिन्छ। आगो ताप्नका लागि केही स्थानीय तहले दाउरा पनि वितरण गरेका छन्। चोकसहित सार्वजनिक स्थानमा आगो बाल्नका लागि जिल्लास्थित सामुदायिक वन र डिभिजन वन कार्यालयले दाउराको व्यवस्थापन गर्नुपर्ने केही दिनअगाडि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो।
जाडोका कारण बाहिर हिँडडुल गरिरहेका मान्छेलाई समस्या भइरहेकाले सार्वजनिक स्थानमा आगो बाल्नका लागि स्थानीय तह र वडा कार्यालयले दाउरा वितरण गर्न आवश्यक रहेको रीता चौधरीको भनाइ छ। जाडोका कारण बालबालिका र ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग बढी प्रभावित हुने गर्दछन्। जाडोले निमोनिया, रुघाखोकीलगायतको स्वास्थ्य समस्या हुने गर्दछ। यसैगरी बालबालिकालाई रोटा भाइरसको प्रकोप हुने गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माको भनाइ छ।