धनगढी - सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले अहिले सम्म संसदीय दलको नेता छनोट गर्न सकस भएको छ ।
एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसक्दा पनि नेपाली काँग्रेसले अझै सम्म दलको नेता छनोट गर्न सकेको छैन । नेकपा एमालेले राजेन्द्रसिंह रावललाई दलको नेता बनाएको छ। नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई र नेकपा एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई दलको नेता चयन गरेको छ।
यी सबै पार्टीले सर्वसम्मत रूपले दलको नेता चयन गरिसक्दा काँग्रेसमा आकाङ्क्षी धेरै भएको हुँदा नेता चयनमा ढिलाइ भइरहेको हो ।
अहिले काँग्रेसका आधा दर्जन प्रदेश सभा सदस्य दलको नेता बन्न लागिपरेका छन् । यहाँ काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवा सहित बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन् ।
२८ गते प्रदेश सभाको बैठक बस्दै छ उक्त बैठकले सभामुख चयन गर्ने छ। त्यो भन्दा अघि नै दलको नेता चयन गरिसक्ने काँग्रेसको तयारी छ ।अघिल्लो प्रदेश सभा निर्वाचनमा तेस्रो बनेको काँग्रेस अहिले प्रत्यक्ष तर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट सहित पहिलो स्थानमा छ ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ प्रदेश सांसद छन् ।