काठमाडौं -राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालयमा आज उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् । उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् ।
पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् ।
उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएका छन् ।
ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टिका लगाइदिनेछन् ।
यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भाउजू विष्णुमायाको हातबाट दशैंको टीका तथा जमरा ग्रहण गरेका छन्।दशैंको शुभ साइतमा उनले ८६ वर्षीय भाउजू विष्णुमायाको हातबाट दशैंको टीका थापेका हुन्।
उता पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका थापेका छन् । शिर्ष नेताहरुले दसैंको टिकाको फोटोहरु सामाजिक सन्जालमा राखेका छन्