महेन्द्रनगर - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए ।
डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा सो घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् ।
उनीहरूलाई सो घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए । गठन भएको समितिले निर्मला प्रकरणबारे नयाँ ढंगले अनुसन्धान गर्ने छन् ।
गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।
२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका दिलिपसिंह विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए ।
अहिलेसम्म सो घटनाका दोषी पत्ता लाग्न सकेको छैन । यद्यपि, पूरानो भइसकेको केसलाई ब्युँताउँदै गृहमन्त्री लामिछानेले जसरी भए पनि उक्त घटनाको द्वोषी पत्ता लगाउने भनेका छन् ।घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।