धनगढी - कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नं. वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास फैलिएको हो । स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन् ।
सो बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन् ।स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ ।
प्रायः दिनहुँ बाघ देखिन थालेपछि स्थानीय पालिकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । गाउँपालिकाको ७ नं. वडा कार्यालयले बिहीबार एक सूचना जारी गरी स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका ७ नं. वडाध्यक्ष दीपेन्द्र बमले बाघ देखिएको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सबडिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरेको बताए ।
बाघको त्रास बढेपछि साँझ पर्ने बित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपतपुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन् ।
उक्त बाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको स्थानीयले बताएका छन् । भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको बताइएको छ । सीमावर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताए ।