काठमाडौँ - सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड बीच छलफल भएको थियो ।
पुस १० गते सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिइसकेका छन् ।
अहिलेसम्म एमालेबाट ४ माओवादी, स्वतन्त्र पार्टी र जनमत पार्टीबाट एक-एक जना मन्त्री नियुक्त भएका छन् । शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । राप्रपा, नागरिक उन्मुक्ति र जसपाले पार्टीहरूले सरकारमा सहभागी हुन विभिन्न सर्तहरू अगाडि सारिरहेका छन् ।
माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । बैठकमा यी दलहरूका शीर्ष नेता सहभागी छन् ।