धनगढी - केन्द्रमा नयाँ समीकरणको सरकार बने संगै सुदुरपश्चिम प्रदेशमा पनि सरकार बनाउने गृह कार्य शुरु भएको छ । प्रदेशमा दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश को चौथो दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।
उन्मुक्ति प्रदेशमा सरकार बनाउन निर्णायक दल हो । उसले संसदीय दल को नेता रामेस्वर चौधरीलाई बनाएको छ । उन्मुक्ति पार्टी स्रोतले भन्यो -" हाम्रो दाबी हुन्छ । हाम्रो संसदीय दलको नेता रामेस्वर चौधरी हुन्छन् र उहाँ नै मुख्यमन्त्री बन्नु हुन्छ । यसमा कुनै दायाँबायाँ हुन्न । हामी नै निर्णायक हुने भएपछि त्यसमा अन्य दलहरु को पनि आपत्ति हुँदैन होला ।"
उन्मुक्तिले मुख्यमन्त्री सहित अन्य केही पदमा दाबी गर्ने बताएको छ । यद्यपि अहिले बनेको नयाँ गठबन्धनका मुख्य दल नेकपा एमाले र नेकपा माओवादी ले पनि मुख्यमन्त्री मा दाबी गर्ने बताउँदै आएका छन् ।
प्रदेशमा नेपाली काँग्रेस का १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ , राप्रपा का १ र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरि ५३ जना रहेका छन् ।
एमाले- माओवादी वा काँग्रेस- समाजबादी नेतृत्व मा उन्मुक्ति का सांसद जता लागे त्यतै बहुमत पुग्ने यहाँ गणित रहेको छ ।सरकार बनाउन २७ सांसदको आबश्यकता पर्दछ ।
सुदूरपश्चिममा नवनिर्वाचित सांसदका लागि यही १५ पुसमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।