अत्तरिया -कैलालीको अत्तरियामा रहेको सुदुरपश्चिम समावेशी आधारभुत विद्यालयमा स्वर्गीय पत्रकार कर्ण शाहीको सम्झनामा फलफुल तथा खाद्यन्न वितरण गरिएको छ । अपाङ्ग तथा शारिरीक रुपमा अशक्त छात्र तथा छात्राहरु अध्ययनरत सो विद्यालयमा स्वर्गीय पत्रकार शाहीका भाई प्रकाशबहादुर शाहीले सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरेका हुन ।
विद्यालयमा आयोजित फलफुल तथा खाद्यन्न कार्यक्रममा डोटी बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख इश्वरीदत्त पन्त प्रमुख अतिथि रहेका थिए । पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनि साउँद, संस्थापक अध्यक्ष मानवहादुर साउँद, स्वर्गीय पत्रकार शाहीका आमा गोमादेवी शाहीले विद्यालयमा अध्ययनरत बालबालिकालाई फलफुल तथा खाद्यन्न वितरण गरेका थिए । आर्थिक अभियान दैनिकका तत्कालिन सुदुरपश्चिम व्युरो प्रमुख पत्रकार शाहीको २०७१ असोज २० गते दशै मनाएर जन्मथलो डोटीको जोरायलबाट कार्यथलो धनगढी फर्कर्दै गर्दा यात्रुवाहक वस दुर्घटनामा परी मृत्यु भएको थियो । आफ्ना स्वर्गीय दाजुको सम्झनामा हरेक वर्ष आर्थिक रुपमा कमजोर बालबालिका तथा असहयहरुलाई फलफुल तथा खाद्यन्न वितरण गर्दै आएको प्रकाशबहादुर शाहीले बताए ।
जोरायल बस दुर्घटनामा पत्रकार शाहीसहित २९ जनाको मृत्यु भएको थियो भने ६८ जना घाइते भएका थिए । जोरायल बस दुर्घटना भएको आज पाँच वर्ष पुगिसक्यो, तर सरकारले समिति छानविन समिति गठन गरेपनि पिडितले न्याय नपाएको गुनासो शाही परिवारले गर्दै आएको छ । आफ्नो छोराको सम्झनामा यसअघि कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी तथा यसवर्ष कैलालीकै अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई फलफुल तथा खाद्यन्न वितरण गरेर मन शान्ति गर्ने कोषिश गरेको आमा गोमादेवी शाहीले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनि साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँदले स्वर्गीय पत्रकार शाहीले सुदुरपश्चिमको आर्थिक पत्रकारितामा पुर्याएको योगदान महत्वपुर्ण रहेको भन्दै शाहीको निधनले सञ्चार क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरे । विविभन्न दाता तथा दानविरहरुबाटै यो विद्यालय सञ्चालन भइरहेको बताउँदै यस्ता सहयोगले विद्यालयमा अध्ययनरत ६४ जना अपाङ्ग बालबालिकालाई मद्दत पुग्ने विद्यालयले जनाएको छ ।
खाद्यन्न वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनि साउँदले आफ्नो कार्यकालभित्र विद्यालयमा अक्षयकोष स्थापना गर्ने योजना रहेको बताए । नेपालकै नमुना विद्यालय बनाउन अत्तरियावासीको मात्रै नभएर नेपाल र नेपालवाहिरबाट पनि अपेक्षाअनुरुपको साथ र सहयोग प्राप्त भएको उनले बताए ।