बैतडी - राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका ६ पाङबबिना जोड्ने पुल डेढ वर्षअघिको बाढीले भत्काएको थियो ।
२०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गासमेत बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । स्थानीय पदम खडायतले पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाइएको बताए ।
स्थानीयले काठेपुल निर्माण गरे पनि जोखिम भने उत्तिकै बढेको छ । सेती नदीमा स्थानीयले गत वर्ष पनि काठेपुल निर्माण गरेका थिए । पुल तर्दा गत वर्ष डोटीको आदर्श गाउँपालिका–६, गिरीचौकाबाट बैतडीको सिगास गाउँपालिका–७, सङ्डा आउँदै गर्दा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको थियो ।
स्थानीय प्रेमबहादुर बोहराले सेतीको बाढीले बैतडीको ढुङ्गाडलगायतका क्षेत्रका घरखेत र नदी तर्ने पुल बगाएपछि पुनर्निर्माणका लागि स्थानीयले आग्रह गर्दै आएका थिए । उनका अनुसार डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि काठेपुलमा जोखिम मोलेर जानुपर्ने बाध्यता छ । उनले भने , “सेती नदी तर्ने पुलसम्म छैन । जोखिम मोलेर नदी तर्दा मर्ने बाँच्ने ठेगान हुँदैन ।”
बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न गत वर्ष प्रधानमन्त्री, मुख्यमन्त्री, गृहमन्त्री, सङ्घीय सांसद, स्थानीय तहका प्रमुखलगायतका नेता आए पनि हालसम्म राहत नपाएको स्थानीय लोकबहादुर चन्दले पीडा सुनाए । उनले भने , “बाढीले घरखेत बगायो । मोटर चल्ने बाटो छैन ।
नदी तर्न पुल छैन । निरीक्षण गर्न नेता आए पनि कुनै राहत आएन । बाढीले अन्न फल्ने खेतमा बालुवा थुप्रिएको छ ।” स्थानीय लोकबहादुर चन्दले बैतडीको ढुङ्गाड क्षेत्रमा पटक–पटकको बाढीले गाउँ तहसनहस हुँदा पनि गतिलो तटबन्ध निर्माण हुन नसकेको बताए ।