बैतडी - भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा बैतडीमा एक महिला घाइते भएकी छन् । घाइते महिलाको टाउकोमा छ वटा टाँका लगाइको छ । बैतडीको दोगडाकेदार गाउँपालिका –४, पीपलकोटकी ५० वर्षीय मीना भट्ट सोमबार बिहान ११ः३० बजे भान्सा कोठामा खाना पकाइरहेका बेला बाँदरले आक्रमण गरेको थियो ।
बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताए । उनले भने , “बाँदरले टोक्दा भाउजूको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय पीपलकोट स्वास्थ्य चौकीमा उहाँको प्राथमिक उपचार गरिएको छ ।
मानव बस्तीमा बाँदरले आतङ्क मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार –४, का स्थानीय त्रसित बनेका छन् । दोगडाकेदार गाउँपालिकासँगै जोडिएको बैतडीको दशरथचन्द नगरपालिकाका स्थानीयवासी पनि बाँदरका कारण पीडित बनेको बताएका छन् । दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताए ।
भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ ।
बाँदर नियन्त्रणका लागि स्थानीय तहको सरकारसँग पटक–पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेर प्रशासन कार्यालयमा धर्ना दिए पनि बाँदर नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यान नगएको स्थानीयको गुनासो छ ।