दिपायल - उच्च लेकाली र हिमाली क्षेत्रमा अत्यधिक चिसो बढेसँगै भेडीगोठ बेँसीतिर सार्न थालिएको छ। भेडापालक परिवारका सदस्य र भेडासहित अस्थायी बसोवासका लागि छिमेकी जिल्लामा पुगेका छन्। बाजुरा जिल्लाको हिमाली क्षेत्रका भेडा व्यवसायी दुई सातादेखि डोटीमा बस्न थालेका छन्। भेडा बथान र परिवारका सदस्यसहित डोटी पुगेका व्यवसायी फागुन महिनासम्म डोटीमा बस्ने बताइएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाको सामुदायिक वनमा दर्जन बढी भेडा व्यवसायी टेन्ट राखेर बस्न थालेका छन्।
चिसोबाट भेडा परिवारका सदस्य जोगाउन समस्या हुने र चरिचरनको पनि अभाव हुने गरेका कारण हिउँदमा बर्सेनि गोठ सार्ने गरेको बाजुराको बूढीनन्दा नगरपालिका ९ कोल्टीका चन्द बोगटीले बताए। उनले भने , “हाम्रो जीविकोपार्जन गर्ने मुख्य पेसा यही नै हो। हिउँदमा बसाइँ सर्ने, गर्मीमा घर फर्किने क्रम हाम्रो पुर्खादेखि नै चल्दै आएको छ।”
उनका अनुसार ६०/७० भेडा र परिवारका सदस्यसहित बसाइँ सरेको दुई साताजति भएको छ, अब फागुनमा मात्र उनीहरू फर्किन्छन्। बोगटीसहित पाँच जना भेडापालकको परिवार दुई सातादेखि सामुदायिक वनमा पर्ने सडकछेउमा पाल टाँगेर बस्दै आएका छन्। यसरी वनक्षेत्र प्रयोग गरेबापत व्यवसायीले सामुदायिक वनलाई मासिक रूपमा पाँचदेखि सात हजार रुपियाँसम्म रोयल्टी तिर्ने गर्छन्।
दिपायल सिलगढी नगरपालिका ७ को सामुदायिक वनमा बस्दै आएका भेडापालक बोगटी विगत चार वर्षदेखि आफूहरू सोही ठाउँमा बस्ने गरेको बताए ।त्यसअघि भने उनीहरू अछाम जिल्लाको बेँसीतिर सर्ने गरेका थिए। भेडासँगै बसाइँ सरेका अर्का व्यवसायी शिवा गुरुङसँग भेडापालन गरेको लामो अनुभव छ। उनी बाल्यकालदेखि भेडा चराउँदै आएका हुन्। उनले भने , “बालकदेखि भेडा गोठालो बसेको हुँ, अहिले ५० वर्ष पुगिसकेँ, भेडा मालिक अहिले काठमाडौँ, नेपालगञ्ज, कैलालीका ठुल्ठूला सहरमा बस्नुहुन्छ।”
उहाँले भन्नुभयो, “अहिले आफैँ व्यावसायिक रूपमा भेडापालन गर्दै आएको छु।” एक सय भेडाका मालिक शिवा छोरा, छोरी र श्रीमतीसहित डोटी पुगेका छन् । उनले हाल यो व्यवसायबाट वार्षिक छ देखि सात लाखसम्म आम्दानी गर्ने गरेको बताए। भेडा व्यवसायीसँगै उनीहरूका स्कुले बालबालिका पनि चिसो छल्ल डोटी पुगेका छन्। करिब पाँच महिनाको बसाइँ जिल्लाबाहिर हुने भएका कारण बालबालिकाको पढाइमा असर पर्ने गरेको व्यवसायीहरू बताउछन्।
“उच्च लेकाली र हिमाली भेगका विद्यालयमा यो समय विद्यार्थीको न्यून उपस्थिति हुने गरेका छन्। बालबालिका राम्रोसँग पढ्न पाउँदैनन्, त्यसपछि यही सीप सिक्छन् र यही पेसामा लाग्छन्,” भेडा व्यवसायी बोगटीले भने। हिउँदको समयमा बाजुरा, हुम्ला, जुम्ला जिल्लामा पर्ने हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी चिसो छिचोल्न विभिन्न स्थानमा बसाइँ सर्ने भएकाले बालबालिका पढाइबाट प्रभावित हुने गरेका छन्।
चिसो छल्न बेँसी झरेका भेडा व्यवसायीले यो समयमा भेडा बिक्री वितरण गरेर गुजारा चलाउँदै आएका छन्। उनीहरू भेडाको ऊनबाट बनेका लुगा कपडाको व्यापार पनि गर्दै आएका छन्। बाजुरा जिल्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छिचोल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा भेडीगोठ सार्ने गर्छन्।