कञ्चनपुर (भीमदत्त ) - कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुगिन् । उनलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।
वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक पर्यो । उनले वडा कार्यालयमा अधयक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोजिन् । हिरादेवीले वडा अध्यक्षलाई भेटिन्न । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गरिन् । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उनले थाहा पाएपछि अटो चढेर त्यही गइन् ।'अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बसेका थिए, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए ', हिरादेवीले भनिन् ।
कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उनले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिइन् । 'केही दिनयता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गर्नुभएको छ', अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बसेका हुन् ।
उनी कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहेका छन् । सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छु, उनले भने , 'थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो '।
नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । यसअघि सडकका लागि एक करोड ४९ लाख रुपैयाँ बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख रुपैयाँ मात्रै दिएको छ ।
'सडक निर्माणको काम अन्तिम चरणमा छ, यो सडक सम्पन्न गर्न विगतको जस्तै बजेट मागेका थियौँ', उनले भने, 'तर नगरपालिकाले प्रर्याप्त बजेट दिएन, कटौती गरेर दियो ।' वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउछन् । 'कार्यपालिका बैठकमा यो माग कति पटक उठायौँ, उहाँहरू कुरा सुन्नुहुन्छ, निर्णय गर्दा बहुमतको आडमा एकलौटी अगाडि बढ्ने गर्नु भएको छु,' उनले भने ।
वडा कार्यालयको फाइल, रजिस्टर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्छन् । कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उनका अचेल दैनिकी नै बनेको छ । पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । त्यही सडकका लागि बजेटको माग गर्दै धर्ना बसेका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । 'आउँदो नगर सभाबाट सडक कालोपत्रेका लागि बजेट छुट्याइनुपर्छ, त्यसका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनुपर्योु , उनले भने, 'नभए आमरण अनसनमा बस्ने लगायत कार्यक्रममा जानुपर्ने हुन्छ ।' रासस