काठमाडौं - रन्जीता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेशतर्फको समानुपातिक सदस्यको नाम टुंग्याएको छ ।
नागरिक उन्मुक्तिले मधेस प्रदेशमा रामचन्द्र चौधरी (मधेसी पुरुष) लुम्बिनी प्रदेशमा निर्मलाकुमारी चौधरी (आदिवासी जनजाति महिला) र नोरीकुमारी चौधरी (थारू महिला)को नाम टुंग्याएको छ ।
यस्तै , सुदूरपश्चिम प्रदेशमा सुनीता चौधरी (थारू महिला) र दामोदर पण्डित (खस आर्य पुरुष) को नाम समानुपातिकका लागि टुंग्याएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ । काठमाडौंमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहा गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो । पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहा गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव थापाले बताए ।
नागरिक उन्मुक्तिका संरक्षक रेशमलाई विभिन्न राजनीतिक दलका नेताहरुले जेलमै गएर भेटघाट गरेका छन् । दलका नेताहरुले सरकारमा निर्माणमा सहयोग गर्न उन्मुक्तिलाई आग्रह गरिरहँदा उसले मुद्दा फिर्ता र बन्दी रिहाइलाई पूर्वसर्त बनाएको छ ।
वैशाख ४ देखि ६ गतेसम्म टीकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
बैठकले वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले पाँच सय एक सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय पनि गरेको छ । हाल २१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार भएर पाँच सय एक सदस्यीय हुने भएको छ । पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ ७ सिटमा जित हासिल गरेको छ । समानुपातिकतर्फ भने ५ सदस्यलाई सिफारिस गर्न पाएको हो ।