काठमाडौं - आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । हरेक वर्ष यस दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।
सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।
नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ । विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगिकार गरेको छ ।
दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् ।
मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए ।