डोटी - अविरल वर्षाका कारण अवरुद्ध भएका डोटी जिल्लाका दर्जनौँ ग्रामीण सडक धमाधम सञ्चालन गरिन थालेका छन् । यहाँका गाउँघरमा दशैँको चहल पहल शुरु भएसँगै बर्षाले बन्द भएका सडक स्थानीय तहको पहलमा अहिले सञ्चालन गरिन थालेका हुन् । वषाले अवरुद्ध बनेका सडक सञ्चालनका लागि जिल्लाका ९ वटै स्थानीय तहको पहल कदमी चालिएको शिखर नगरपालिका १का वडाध्यक्ष खडकबहादुर शाहीले जानकारी दिए ।
सडकहरु अवरुद्ध भई यातायात बन्द भएपछि यहाँका ग्रामीण क्षेत्रका किसानले गाउँमा उत्पादन गरेका तरकारीलगायत अन्य विभिन्न फलफूल बजारसम्म ल्याउन सकिएको छैन । बन्द भएका सडक स्थानीय तहको पहलमा सञ्चालन गरिन थालेपछि अहिले यहाँका स्थानीयवासी निकै खुशी भएका केआइसिंह गाउँपालिका– ५ जमलकटियाका चेतराज भट्टले बताए ।
केही हप्ता अघि परेको लगातारको वर्षापछि पहिरो खस्दा जिल्लाका विभिन्न स्थानका ग्रामीण सडक अवरुद्ध भई यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायलले जानकारी दिएको थियो ।
यहाँका ग्रामीण सडकमा पहिरो खस्दा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका साधन चल्न बन्द भएका थिए । जसका कारण यात्रु पैदल यात्रा गर्न बाध्य थिए । पहिरोका कारण दिपायल सिलगढी नगरपालिका बागनेटीबाट बोगटान फुड्सिल गाउँपालिकासम्म जाने कच्ची मार्गमा लामो समयदेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय सुमन भट्टले बताए ।
त्यस्तै जिल्लाको मौवा मेल्लेक, सायल, डौड सडक खण्डका विभिन्न ठाउँमा पनि बर्षाले पहिरो खस्दा यातायात चलाउन नमिल्ने भएका शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए । दिपायलदेखी गडसेरा जोड्ने सडकमा पनि पहिरो खस्दा उक्त सडकमा लामो समयदेखि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य विपिनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, बिपीनगर, बागछेडा लगायतका दर्जनौँ सडक पहिरोले गर्दा यातायात बन्द भएका छन् । पहिराले गर्दा ग्रामीण सडकमा यातायात लामो समयदेखि बन्द भएको शैलेश्वरी यातायात समितिका जीपचालक मदन विकले बताए । रासस