कैलाली - जिल्लामा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका ६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।ढुङगानाले मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। भण्डारी र ढुङ्गानाबीच साला–भिनाजुको नाता पर्दछ।
यस्तै ,ढुङ्गानाले प्रहार गरेको हँसिया लागेर अर्का सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। जयराज पनि नातामा गौरीलालका साला हुन् ।मृतक भण्डारी हालै भारतबाट नेपाल आएका थिए। घटनापछि ढुङ्गाना फरार रहेको र उनको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको थियो ।गए राति एक बजे आफै बौनियास्थित इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
मृतक भण्डारीले नेपाल आएपछि भिनाजुले आफ्नो दिदीलाई दुःख दिने गरेको कुरा थाहा पाए। त्यसपछि उनले भिनाजु हत्या आरोपित ढुङ्गानालाई सम्झाउन खोजे। तर, उनले उल्टै मलाई सम्झाउन को हो तिमीरु भनेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
‘तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको छ,’ डिएसपी जोशीले भने, ‘ती दुईकाबीच यसअघि पनि मुद्दा, मामिला परेको देखिन्छ, झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको खुलेको छ।
उनलाई इलाका प्रहरी कार्यालय सुखडमा हिरासतमा राखिएको छ ।