धनगढी - कैलालीको धनगढीमा मङ्सिर २२ गते (बिहीबार )गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन्।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने बताए।
महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। महोत्सव यो १६ औँ संस्करण हो ।
महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय स्टल रहने छन् । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान सङ्घले गरेको छ । मङ्सिर २२ गते शुरु हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा सङ्घले गरेको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् ।