धनगढी -प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) बिच रोचक गणना चलिरहेको छ।
प्राप्त पछिल्लो मतपरिणाममा माओवादी केन्द्र केही सय मतले घन्टी चिन्ह भएको रास्वपाभन्दा अघि लागेको छ।
९३ लाख ८ हजार १६४ मत सदर हुँदा माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ अर्थात् ११.४३ प्रतिशत मत पाएको छ।
रास्वपाले १० लाख ६३ हजार ८३१ अर्थात् ११.४२ प्रतिशत मत पाएको छ।
अहिलेसम्म पहिलो स्थानमा नेकपा (एमाले) छ। एमालेले २५ लाख ३४ हजार ४४४ अर्थात् २७.२२ प्रतिशत मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३०७ मत पाएको छ। कांग्रेसको मत २५.७८ प्रतिशत छ।
पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६९० अर्थात् ५.८६ प्रतिशत मत पाएको छ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ४१८ अर्थात् ३.५ प्रतिशत मत पाएको छ।
सातौं र आठौं स्थानमा रहेका जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) भने तीन प्रतिशतको थ्रेस होल्डमा पुग्न संघर्षरत छन्।
अहिलेसम्म जनमत पार्टीले २ लाख ६२ हजार ८२६ अर्थात् २.८२ प्रतिशत मत पाएको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार १५५ अर्थात् २.७० प्रतिशत मत पाएको छ।