बाजुरा - मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच उजुरी दिने जुहारी चलेको छ ।
नेकपा एमालेले ११ वटा बुथ कब्जा गरी एकलौटी मत खसाएको आरोप लगाउँदै नेपाली कांग्रेस बाजुराले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ ।
त्यसै गरी नेपाली कांग्रेसले १६ बुथ कब्जा गरी निर्वाचनमा धाँधली निम्त्याएको भन्दै नेकपा एमाले बाजुराले पनि गत साता मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ । कांग्रेसको उजुरीमा नेकपा एमालेले जगन्नाथ गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का मतदान केन्द्र, बूढीगंगा नगरपालिकाका नम्बर १, २, ३, ८ र ९ बूढीनन्दा नगरपालिकाको ४ र १० गौमुल गाउँपालिकाको १ र २ नम्बर वडाका मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी एमाले उम्मेदवारविरुद्ध उजुरी दिएको छ ।
नेकपा एमालेले पनि त्रिवेणी नगरपालिकाको त्रिभुवनेश्वरी माविको बुथ केन्द्र, मस्टेश्वरी मावि केन्द्र वडा नम्बर ३, नाटेश्वरी आवि त्रिवेणी ७, नवदुर्गा बुथकेन्द्र वडा नम्बर ८, खप्तड क्षेडेदह गाउँपालिकाको वडा नम्बर २ र ४, बूढीगंगाको ४, ७ र ८ नम्बर वडामा पनि धाँधली भएको जनाएको छ ।
बूढीनन्दा नगरपालिकाको वडा नम्बर ५ र ७ त्यसै गरी हिमाली गाउँपालिका वडा नम्बर ५, ६ र ९ नम्बर वडाको बुथमा धाँधली भएको भन्दै मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय बाजुराका सहायक निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिएका छन् । साभार नेपाल समाचारपत्र दैनिक