बैतडी - सोमबार बिहान बैतडीमा भएको प्रहरी सवार जीप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ।
दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउँद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको हो ।
यस्तै , दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल,प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया,आशा धामी, भानु विष्ट,टिकेन्द्र ऐरी,चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्।
घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको थियो। जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए।
जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।