धनगढी - सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि र प्रदेश सदस्यको लागि निर्धारित समयमा मतदान सुरु भएको छ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार बिहान ७ बजेदेखि कैलाली, कञ्चनपुरलगायत सात पहाडी जिल्लामा तोकिएका मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन्। सोह्र प्रतिनिधिसभा र ३२ प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको सिट रहेको सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र कैलाली र यसपछि कञ्चनपुरमा छन्।
डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अछामबाट श्रममन्त्री शेरबहादुर कुँवरले मतदान गर्नेछन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले नौवटै जिल्लामा मतदान सुरु भएको बताए।
उनले आयोगले तोकिएका मतदान तालिकाअनुसार नै यहाँ बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको बताए। सुदूरपश्चिममा आज १६ लाख ५६ हजार चार मतदाताले मतदान गर्नेछन्। मतदानका लागि यहाँ भारतलगायत विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली घर आएका छन्। यहाँ भारतसित सीमा जोडिएका नाका पूर्णरुपले बन्द गरिएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलले नौवटै जिल्लामा शान्तपूर्ण वातावरणमा निर्वाचन सुरु भइसककेो बताए। सुदूरपश्चिमभरी नेपाल प्रहरी र म्यादी प्रहरी मात्रै साढे १८ हजार परिचालन भएको छ।
“सेना र सशस्त्र प्रहरीसमेत प्रदेशभरि निर्वाचन सुरक्षाका लागि परिचालन भएको छ”, उनले भने, “मतदानस्थल विभिन्न सुरक्षा घेरामा नागरिकले भयरहित वातावरणमा मतदान गर्ने प्रबन्ध मिलाइएको छ।”