बैतडी - जिल्लाको दशरथचन्द नगरपालिका ८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन् ।
यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सम्पन्न गर्न आफुसहित ८ जना अपाङ्गता भएका कर्मचारीहरु सो केन्द्रमा खटिएको मतदान अधिकृत लोकेन्द्र बहादुर चन्दले बताए ।
‘गएको बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अपाङगता भएका कर्मचारीहरुलाई खटाएको थिएन् , यो निर्वाचनमा आफूहरुलाई पनि खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आग्रह गरेका थियौ,’ उनले भने ‘यसपालि जिम्मेवारी पायौँ र काममा खटिएका पनि छौ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपाङ्गता भएका कर्मचारीहरुलाई लक्षित गर्दै उक्त मतदान केन्द्रको स्थापना गरेको हो । शुक्रबार सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न निकायका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न गरिएको र निर्वाचनलाई निष्पक्ष,सुरक्षित, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्नको लागि आवश्यक निर्णय गरिएको पनि सो मतदान केन्द्रमा खटिनुभएकी सहायक मतदान अधिकृत लक्ष्मी बिष्टले जानकारी दिइन् । मतदानमा खटिने सबै कर्मचारीहरु अपाङ्गता भएका कर्मचारीहरु भएकाले नयाँ उर्जाका साथ काम गर्ने पनि उनले बताइन् ।
अपाङ्गता भएका कर्मचारीहरुको माग अनुसार नै उनीहरुलाई मतदान केन्द्रको जिम्मेवारी दिइएको सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले जानकारी दिए । उनीहरुको अवस्थालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको र कुनै यसबारे समस्या आएको अवस्थामा जगेडा कर्मचारीहरु खटाइने उनले बताए ।
यो केन्द्र जिल्लाकै एक मात्र अपाङ्गता भएका कर्मचारी खटिएको केन्द्र हो ।उक्त मतदान केन्द्रमा ८०७ मतदाता रहेका छन् । बैतडीमा १२९ मतदान स्थल र २१० मतदान केन्द्र रहेका छन भने १ अस्थायी मतदान केन्द्र रहेको छ । यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन् ।