कैलाली- मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको छ । सुदुरपश्चिम प्रदेशका ९वटै जिल्लाका मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहित सुरक्षा टोली खटिएको छ ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदुरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी खटिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले बताए । उनका अनुसार ६ हजार ४१० जना जनपद प्रहरी, ११ हजार ५ सय ५९ म्यादी प्रहरी परिचालन भएका छन ।
त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेना पनि खटिने छन् । ‘तीन घेरामा सुरक्षा प्रवर्धन मिलाइएको छ । प्रदेशभर १७७ वटा मोबाइल टोली र २० वटा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राखिएको छ । प्रदेशका १ हजार १ सय ६१ वटा मतदानस्थलमध्ये प्रहरीले सुरक्षाको दृष्टिकोणले ती मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार तीमध्ये ४०५ मतदानस्थल सामान्य, ४०४ संवेदनशील र ३५२ मतदानस्थल अति संवेदनशीलका रुपमा राखेर सोही अनुसार सुरक्षाकर्मी खटिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको तयारी पूरा भएको बताएका छन् । भौगोलिक रूपमा विकट मतदानस्थलमा मंगलबारदेखि कर्मचारी नियुक्त भइ मतपत्रसहित खटाइएको र सुगम ठाउँका मतदानस्थलमा मंसिर २ गतेभित्र कर्मचारी खटनपटन गरिने उनले बताए ।
कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्ने लगायतका व्यवस्थापकीय काम पूरा भइसकेको छ ।
सुदुरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमा कूल १६ लाख ५६ हजार चार मतदाता रहेका छन् ।